- धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ ।
झापा, १५ श्रावण । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुऱ्याउन भ्याइ-नभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।
भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन् ।
उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन”, खनालले भने ।
हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।
वार्षिक एक करोड मुनाफा
खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छभने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उनले जानकारी दिए ।
धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । मैले मात्र आम्दानी गरेको होइन । दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन् । उपभोक्ताले पनि स्वदेशी र ताजा तरकारी खान पाएका छन् । यस वर्ष वार्षिक रु दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरेको छु”, खनालले भने ।
उनले सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाए । “एउटै अम्बक आधा केजीसम्मको फल्न थालेको छ । हाल आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ । फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छ भने, दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन्”, खनालको भनाइ छ ।
विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन ‘पारिको होइन वारिको’ भन्ने अभियान नै सञ्चालन गरिरहेको छ । नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिएका र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पुऱ्याइरहेको बताउँछन् ।
उनले भने,“नगरपालिकाले बोडीको समर्थन मूल्य प्रतिकेजी रु ३० तोकेको छ । उक्त मूल्यमा बिक्री नभए तौलको आधारमा घाटा पूर्ति रकम उपलब्ध गराउँदै आएका छौँ । यसमा मात्रै होइन अन्य उत्पादनमा पनि कृषकलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’